सेयर बजारमा आज सामान्य गिरावट

काठामाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य गिरावट भएको छ । सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ ।

आज बजार परिसूचक नेप्से ३ दशमलव ५१ अंक (० दशमलव १८ प्रतिशत) ले गिरावट भएर १९४९ दशमलव ८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकाम्स उपसूचकमा गिरावट हुँदा लघुवित्त र व्यापार उपसूचक भने सामान्य बढेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक १ दशमलव ०९ प्रतिशतले गिरावट भएको छ ।

सेयर बजारमा लगानीकर्ताको सक्रियता न्यून हुँदा कारोबार पनि घट्दै गएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको थियो भने मंगलबार १ अर्ब पनि पुगेन ।

आज पनि नेप्सेमा २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख ३४ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड १५ लाख ३ हजार र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ८३ लाख १० हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ ।

यसदिन कारोबार भएकोमध्ये ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४ दशमलव १७ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, यता लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ५ दशमलव ७६ प्रतिशतले गिरावट हुँदा वीन नेपाल लघुवित्तको सेयर मूल्य ४ दशमलव ४० प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ३ दशमलव २७ प्रतिशतले गिरावट भएको छ ।

Back to top button