
सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री कार्कीले यस अगाडि यस क्षेत्रमा आफूले गरेको कामबाट प्रभावित भएर मतदाताले दोस्रो पटक आफूलाई निर्वाचित गराएको बताउनुभयो। आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने उहाँको भनाइ छ ।
उहाँले अबको पाँच वर्ष राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास र समग्र सुनसरी क्षेत्र नम्बर–४ का विकास र यहाँका जनताको हित हुने काममा समय खर्चने प्रतिबद्धता जनाउनुभयो। झिनो मतले निर्वाचित भएको विषयमा उहाँले यसलाई स्वभाविक रूपमा लिएको बताउनुभयो।