
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्बर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३औं प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै आर्थिक सामाजिक विकासमा योगदान पुर्याउनुपर्ने बताउनुभएको हो ।
उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र संगीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको जिकिर गर्नुभयो। कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्बर्द्धन गर्न सरकार पनि प्रतिवद्ध रहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भाबी पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
यस्तै, कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नयाँ पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामू चिनाउनुपर्ने बताउनुभयो ।