पर्सामा ११८ जना उम्मेदवारले जोगाउन सकेनन् जमानत

वीरगञ्ज । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सामा २ महिला सहित १ सय १८ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ४२ र प्रदेशसभा सदस्यतर्फ ७६ जनाको जमानत जफत भएको हो ।

जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ ।

पर्साका ४ वटै क्षेत्रमा गरी प्रतिनिधिसभा सदस्य तर्फ ५३ जना उम्मेदवार रहेकोमा ४२ जना र ८ वटा प्रदेशसभा सदस्यतर्फ १ सय ८ जना उम्मेदवार रहेकोमा ७६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले जानकारी दिनुभयो ।

यस्तै, प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।

Back to top button