धनुषामा एक जनाको हत्या, चार घाइते

जनकपुर । धनुषामा २ परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेको प्रहरीले जनाएको छ ।

गएराति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको छोरा अशोक यादवले बताउनुभयो ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते हुनुभएको छ । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले २ समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र २ जना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताउनुभयो ।

मतृकका कान्छो छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरका थिए ।

‘बुबालाई बञ्चरो आक्रमण गरेपछि चिच्याउनु भयो । हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण गर्न थाल्यो । बुबाको त्यहीँ मृत्यु भयो । हामी घाइते भयौं । अरु कुराहरु थाहा भएन,’ अशोकले भन्नुभयो । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

करिब २ महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको अनुमान छ ।

Back to top button