
सुनसरी । धरान १३ कि एकल महिला उषा राईको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।
धरान–१३ सूर्यमार्गमा भेला भएका महिलाले नारा जुलुस लगाउँदै हत्यमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । आन्दोलनकारीले नारा जुलुस लगाउँदै प्रहरी कार्यालय घेराउ गरेपछि केहीबेर तनाव भएको थियो ।
नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीले इलाका प्रहरी कार्यालय धरानमा धर्ना दिएका छन् । उषाको हत्यमा दर्जन बढी जनजागृती आमा समूहका पदाधिकारीले हत्या गरेको भन्दै ती सबैलाई पक्राउ गर्नुपर्ने महिला अधिकारकर्मी गोमा तामाङले बताउनुभयो। उहाँले हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकाले दबाबस्वरुप आन्दोलन गरेको बताउनुभयो।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिला राईलाई पक्राउ गरी अनुसन्धान थालेको बताउनुभयो । उहाँले प्रहरीले कानुनी कारवाही अगाडि बढाइरहेको अवस्थामा उषाको हत्याको विषयलाई राजनीतिकरण गरी अनावश्यक दबाब सिर्जना गरिएको बताउनुभयो ।
डीएसपी श्रेष्ठले उषाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने भएकाले सबैलाई संयमित हुन अग्रह गर्नुभएको छ ।