विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल हुँदै

विराटनगर । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेलहरु सुरु हुँदैछन् । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेको हो ।

नकआउट चरणका खेल सुरु भएसँगै दर्शकमा थप उत्सुकता बढेको छ । नकआउट चरणको सुरुवाती दिनमा आज दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ ।

यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको हो ।

नेदरल्याण्डले समूह चरणको पहिलो खेलमा सेनेगललाई २–०, दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरी र तेस्रो खेलमा आयोजक कतारलाई २–० ले पराजित गरेको थियो ।

यस्तै समूह बी को उपविजेता अमेरिकाले पहिलो खेल बराबरीमा रोक्न सफल भयो भने दोस्रो खेल पनि इंग्ल्याण्डसँग गोलरहित बराबरीमा रोक्यो । अन्तिम खेलमा भने इरानलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

यस्तै आज हुने दोस्रो खेलमा समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलिया भिड्ने छन् । यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपनि मेक्सिको र पोल्याण्डलाई समान २–० को नतिजामा हराउदै ६ अंक जोडेर समूह विजेता बनेको हो ।

यस्तै अष्ट्रेलिया पनि समूह डी मा पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको थियो । त्यसपछिका खेलमा भने ट्युनिसिया र डेनमार्कलाई समान १–० को नतिजामा पराजित गर्दै अन्तिम– १६ मा प्रवेश गरेको हो ।

फ्रान्स समान ६ अंक जोडे पनि गोल अन्तरमा अष्ट्रेलिया समूहको उपविजेता बनेको हो । नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।

Back to top button