नेप्सेमा आज सामान्य वृद्धि, डेढ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से २ दशमलव १६ अंक (० दशमलव ११ प्रतिशत) ले वृद्धि भएर १९६३ दशमलव २२ अंकमा बन्द भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आज जीवन बीमा उपसूचक भने १ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६ दशमलव ५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६ दशमलव ०७ प्रतिशतले बढेको छ ।

यता नेस्डो लघुवित्तको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले गिरावट हुँदा नबिल बैंकको ३ दशमलव ४० प्रतिशतले गिरावट भएको छ । यस्तै पोखरा फाइनान्सको सेयर मूल्य २ दशमलव ८३ प्रतिशतले गिरावट भएको छ ।

Back to top button