डा. श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले षडानन्द राष्ट्रिय पुरस्कार वनस्पति तथा पर्यावरणविद् डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गरेको छ। यो पुरस्कारको राशि नगद १ लाख छ।

ब्रह्मचारी षडानन्दको १८८ औं जन्मजयन्ती तथा प्रतिष्ठानको पन्ध्रौं वार्षिकोत्सवमा डा.श्रेष्ठ पुरस्कृत हुनुभएको हो । श्रेष्ठले वन, वनस्पति र पर्यावरण संरक्षण तथा सम्बद्र्धनमा पु¥याएको विशिष्ट योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष लालनाथ सुवेदीले बताउनुभयो।

उहाँका अनुसार परोपकार संस्थालाई षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार प्रदान गरिएको छ। साहित्यकार एवं् शिक्षासेवी दुर्गाप्रसाद अधिकारी षडानन्द क्षेत्रीय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । दुवै पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ।

शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माले पुरस्कार वितरण गर्नुभएको थियो। पुरस्कार वितरण समारोहमा प्रा.डा. सोमप्रसाद खतिवडाको कृति ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ ग्रन्थको लोकार्पण गरिएको थियो।

ग्रन्थकारलाई ३५ हजार राशिको विद्वत् वृत्ति सम्मान प्रदान गरिएको थियो। ‘कर्मयोगी षडानन्दको जीवन यात्रा’ वृत्तचित्र निर्माणमा सहयोग गर्ने शम्भु दाहाल र षडानन्द छात्रवृत्ति अक्षय कोषमा रकम प्रदान गर्ने प्रा.डा. बद्री विशाल भट्टराई, इन्द्रकुमारी घले गुरुङ, डा. रूपनारायण श्रेष्ठ र वीर बहादुर बस्नेतलाई सम्मान गरिएको थियो।

यस्तै, प्रतिष्ठानले षडानन्द माविको कक्षा ६–९ मा उच्च ग्रेड ल्याउने कक्षा ८ की निशा रोका र कक्षा ८ कै शिवदेव राईलाई ५ हजार राशिको षडानन्द छात्रवृत्ति प्रदान गर्ने भएको छ। कक्षा ६–८ मा ऐच्छिक विषय संस्कृत अध्ययन गर्ने २८ विद्यार्थीलाई २ हजार ५ सय राशिको षडानन्द संस्कृत छात्रवृत्ति र कक्षा ९ मा ऐच्छिक र थप ऐच्छिक विषयमा संस्कृत अध्ययन गर्ने ६ जनालाई जनही ३ हजार ५ सय राशिको षडानन्द छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको थियो।

Back to top button