
विराटनगर । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ ।
योग्यता पुगेका उम्मेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।
सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।