फिफा विश्वकपः आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम २ खेल हुँदैछन् ।

आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ ।

समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

यस्तै, ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ ।

उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

यस्तै, समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी हुँदै फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम ८ अर्थात क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

Back to top button