नेप्सेमा ५ अंकको गिरावट, कारोबार रकम १ अर्ब तल झर्‍यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ४ दशमलव ८७ अंक (० दशमलव २५ प्रतिशत) ले गिरावट भएर १९३३ दशमलव ८८ अंकमा बन्द भएको छ ।

जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ० दशमलव ५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ० दशमलव २८ प्रतिशत र जीवन बीमा उपसूचक ० दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै लगानी उपसूचक सर्वाधिक ० दशमलव ९१ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक ० दशमलव ३९ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि संकुचन भएको छ ।

हिजो डेढ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्बको पनि कारोबार हुन सकेन । यसदिन नेप्सेमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख ११ हजारको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख ८ हजार र रिडी पावरको ५ करोड २ लाख ७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज कारोबार भएकामध्ये धौलागिरी लघुवित्तको सेयर मूल्य सवार्धिक ८ दशमलव १७ प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ६ दशमलव १२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५ दशमलव ८६ प्रतिशतले बढेको छ ।

यता एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक ६ दशमलव ०७ प्रतिशतले गिरावट हुँदा एनएमबि ५० को इकाइमूल्य ३ दशमलव ८५ प्रतिशत र आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ३।३२ प्रतिशतले गिरावट भएको छ ।

Back to top button