
विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले महाकाली नदीमा भारतले बनाइरहेको तटबन्धले नेपाली स्वाभिमानलाई मिचेको बताउनुभएको छ ।
नेपाली स्वाभिमानलाई मिचेकै कारण नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउन लागेको शर्माले बताउनुभयो।
आज झापाको धुलाबारीमा ‘अर्जुनदृष्टि आभार’ कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपाली स्वाभिमानलाई कायम राख्न सबै एक हुनुपर्ने बताउनुभयो।
मत दिएर जिताएका मान्छेले मात्र केही गर्न नसक्ने भन्दै उहाँले हातेमालो गर्न सबैलाई अपिल गर्नुभएको छ । आफ्नो क्षेत्रका बासिन्दालाई समस्या पर्दा आफू उपस्थित हुने र समस्यामा आफूलाई सम्झन उहाँले मतदातालाई आग्रह गनुभयो।
आफ्नो विजय एकजनाको मात्र विजय नभइ प्रत्येक मतदाताको विजय भएकाले सबै गम्भीर हुन र जनताको माग सम्बोधन गर्न सबैको सहयोग चाहिने शर्माको आग्रह छ।
यस्तै आफूसँग आशा होइन, अब विश्वास गर्न आफ्ना मतदातालाई उहाँले आग्रह गर्नुभयो। मतदातासँगै देश निर्माणमा पसिना बगाउनेहरूलाई पनि उहाँले आभार प्रकट गर्नुभयो।