फेदिखोला गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

स्याङ्जा । फेदिखोला गाउँपालिकाका कार्यपालिका सदस्यले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कार्यपालिका सदस्यहरूले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामै आज तालाबन्दी गरेका हुन्।

गाउँपालिकाका वडा नं.१, ३, ४ र ५ का वडाअध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन्।

गाउँपालिकाका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत काम गरेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित बन्दै तालाबन्दी गरेको जनाउनुभएको छ ।

विशेष गाउँसभाको माग गर्दा वेवास्ता गरेको, आफुखुशी डोजरको प्रयोग गरेको, अनुगमन समिति गठन नगरी आर्थिक अनियमितता गरेको, शिक्षा समिति गठन नगरी शिक्षक सरुवा गरेको, लेखा समिति गठन नगरी खर्च गर्ने गरेको, वडाका विकासमा चासो नदिइएको, तार, जाली, पाइप आफूखुशी वितरण गरेको र वडाबाट आएका सिफारिसलाइ वेवास्ता गरेको, करारका कर्मचारी कार्यपालिकाको निर्णय बमोजिम नगरी आफूखुशी म्याद थप गर्ने गरेको, पालिका अध्यक्षले सवारी साधन निजी काममा पनि प्रयोग गर्ने गरेको, वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच समन्वय नगरेको, मासिक बैठक बस्नु पर्नेमा भदौदेखि अहिलेसम्म एउटा बैठक पनि नवोलाइएको जस्ता बुँदाहरू उल्लेखगरी तत्काल यी मागलाई सम्बोधन गर्न माग गरिएको वडा अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनुभयो।

यस्तै सिद्धार्थ राजमार्ग छेवैमा रहेको गाउँपालिकामा पाँचवटा वडा छन्। ती मध्ये १,३,४र५ कांग्रेस सहित गठबन्धनका १७ जना र एमालेका १२ जना छन्। बहुमत अर्कोपक्षतिर भएको भन्दै गाउँपालिकाका अध्यक्ष सुवेदीले कार्यपालिका बैठकलाई समेत बेवास्ता गर्दै आएको कार्यपालिका सदस्यहरूको गुनासो छ ।

Back to top button