विराटनगर महानगरले थाल्यो अवैध संरचना हटाउने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । अभियान विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाट नै सुरु गरिएको छ ।

विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियान आरम्भ गरिएको हो ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो ।

उहाँले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको बताउनुभएको छ । विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन उहाँले महानगरवासीसँग आग्रह समेत गर्नुभएको छ ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताउनुभयो । अभियान निरन्तर चल्ने नगर प्रहरीका प्रमुख पौडेलले बताउनुभयो ।

महानगरले यसअघि १९ वटै वडामा सरसफाई विशेष अभियान, सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउनेलगायतका अभियान चलाएको छ ।

Back to top button