हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक वृद्धको मृत्यु

विराटनगर । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक वृद्धको मृत्यु भएको छ ।

हात्ती आक्रमणमा परी स्थानीय ७३ वर्षीय जयप्रसाद बाँस्तोलाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ श्रीमती जानुकासँग घाँस काट्न जंगलमा जानुभएको थियो ।

मुनालझोडा सामुदायिक वनभित्र घाँस काट्दै गर्दा जंगली हात्ती आएको र भाग्ने क्रममा उहाँ लड्दा हात्तीले आक्रमण गरेको हो । श्रीमती जानुकाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उहाँले नजिकै गाउँ पुगेर घटनाबारे जानकारी गराउनुभएको थियो ।

गाउँले आएर खोजी गर्दा जयप्रसाद मृत अवस्थामा फेला पर्नुभएको थियो। जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोटपटक पाइएको छ ।

Back to top button