धानको समर्थन मूल्यको कार्यान्वयन गराउन आन्दोलनको घोषणा

काठमाडौं । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्।

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । महासंघले किसानको समस्याबारे प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने जनाएको छ।

कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मुल्य २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेपनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताउनुभयो ।

किसान आन्दोलनको दबाबका कारण भएपनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भएपनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगर्दा किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उहाँको भनाइ छ ।

महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना दिने, मंसिर २५ गते खाद्य कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।

Back to top button