एमाले अध्यक्ष ओलीको निर्वाचन खर्च १८ लाख ८२ हजार

विर्तामोड । झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोगमा पेश गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले प्रतिनिधिमार्फत हिजो चुनावी खर्च विवरण बुझाउनुभएको हो ।

उहाँले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाउनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले बताउनुभयो।

यस्तै, झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवारमध्ये आज दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो। जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार छन् ।

जिल्लाबाट निर्वाचित पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म ३ जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन्।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। यस्तै झापा ५ (२)बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईंले चुनावी खर्च विवरण बुझाउनुभएको छ ।

थापाले १२ लाख १८ हजार ९३० र बजगाईंले ६ लाख ४८ हजार ५९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाउनुभएको उहाँले बताउनुभयो । झापा १ को (२) मा १५ लाख र ५ को (२) मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाउनु पर्ने प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ।

Back to top button