
दार्चुला । दार्चुलामा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको गएराति बंतडको भीरबाट लडेर मृत्यु भएको हो।
लाली बजारतर्फ आउँदै गर्दा भीरबाट लडेर २ सय मिटर तल महाकाली नदीमा खस्नुभएको थियो। यस्तै, आज बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उहाँ कल्चौडे खोलामा खस्नुभएको थियो। उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभएको छ ।