ज्यापु संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा र कलासंस्कृतिको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।

आज ज्यापु संस्कृति विकास कोषले १९औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको हो ।

उहाँले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमुल्य निधि हुन् ।

ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो।’

उहाँले उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

Back to top button