गुजरातमा फेरि पनि भाजपाकै सरकार बन्ने निश्चित

काठमाडौं । गुजरात विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। गुजरातमा भारतीय जनता पार्टीको सरकार बन्ने करिब निश्चित भएको छ।

पछिल्लो मतपरिणामअनुसार भाजपा ७९ स्थानमा विजयी हासिल गरी अग्रस्थानमा छ भने ७८ स्थानमा लिड गरिरहेको छ।

यस्तै, भारतीय कंग्रेस आइले ३ स्थानमा विजयी भएको छ। कंग्रेसले १३ स्थानमा अग्रता लिएको छ। आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो। गुजरातमा २७ वर्षदेखि भाजपाले शासन गर्दै आएको छ।

यसपटक भने आम आदमी पार्टी पनि कडा प्रतिष्पर्धाबीच चुनावी मैदानमा देखिएको छ। आम आदमी पार्टीले १ स्थानमा विजयी हासिल गरेको छ भने ४ स्थानमा अग्रता लिएको छ।

गुजरात विधानसभाको १८२ सिटका लागि २ चरणमा निर्वाचन भएको हो। पहिलो चरणमा १९ जिल्लामा ८९ सिटका लागि मतदान भएको थियो। यसमा ६१ पार्टीका ८३३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

दोस्रो चरणमा १४ जिल्लाका ९३ विधानसभा सिटका लागि निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा ७८८ उम्मेदवार मैदानमा छन्। गुजरातमा सरकार बनाउन कुनै पनि दलले कम्तिमा ९२ सिट जित्नु पर्छ।

२०१७ सालमा गुजरातको विधानसभा निर्वाचनमा १८२ सिटमध्ये ९९ सिट जितेर भाजपाले सरकार बनाएको थियो।

Back to top button