एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो,‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उहाँको भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उहाँले बताउनुभयो । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताउनुभयो ।

उपाध्यक्ष पाण्डे भन्नुभयो, ‘जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो।’ तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उहाँले बताउनुभयो ।

Back to top button