
विराटनगर। पेनाल्टी शूट आउटबाट जित निकाल्दै क्रोएसिया जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा उपाधिको दाबेदार मानिएको ब्राजिल बाहिरिन पुगेको छ ।
एजुकेसन सिटी स्टेडियममा हिजो भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हराएको हो । क्रोएसियाले अब अर्जेन्टिनासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे ।
क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।
चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो । त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरे ।
अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । नेमारको गोलपछि जित नजिक पुगेको ब्राजिलले अग्रता कायम राख्न सकेन भने ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।