विश्वकप फुटबलमा आज क्वाटरफाइनलका दुई खेल हुँदै

विराटनगर। कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज दुईवटा क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल राति पौने ९ बजे पोर्चुगल र मोरक्कोबीच हुनेछ । जारी विश्वकपमा मोरक्को अपराजित टिम मध्ये एक हो ।

बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पराजित गरेको थियो । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यद्यपी यसपटक पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पनि पोर्चुगललाई उपाधिको दाबेदारको रुपमा भने हेरिने गरिएको छ ।

यस्तै दोस्रो खेल इंग्ल्याण्ड र फ्रान्सबिच हुने छ । जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पुग्न सकेको छैन ।

चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग प्रतिष्पर्धा गर्दैछ । अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरता दिँदै फ्रान्सलाई चुनौती दिने लक्ष्यमा छ ।

साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

Back to top button