
बाँके । आठौं संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको हो ।
म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी हुनुभयो। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले २ घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गर्नुभयो । यसअघि सातौं संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जित्नुभएको थियो।
उपाधि विजेता खड्काले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । दोस्रो भएका रावतले रु रु ६० हजार र तेस्रो भएका जोशीले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यस्तै, आठौं संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ सातौं संस्करणको समेत च्याम्पियन हो । उहाँले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै रु ६० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी सो म्याराथनमा दोस्रो हुनुभएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गर्नुभयो भने तेस्रो हुनुभएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्नुभयो । दुवैजनाले क्रमशः रु ३० हजार र रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो ।
यस्तै, प्रतेक वर्ष मंसिर ५ गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण २ साता पर धकेलिएको ठकुरीले बताउनुभयो । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।