विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई मकैको बिऊ र जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो ।

महानगरको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाइब्रिड मकैको बिऊ र जिङ्क वितरण गरेको हो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बिऊ र जिङ्क वितरण गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउनुभयो ।

उहाँले रासायनिक मलका कारण उत्पादकत्वमा ह्रास आएको भन्दै प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका श्याम घिमिरेले जथाभावी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्बरा शक्तिमा कमी आइरहेको बताउनुभयो ।

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई १ हजार १७६ केजी मकैको बिउ, ८ हजार ३ सय ३३ केजी जिङ्क वितरण गर्नेछ । सो बिउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

Back to top button