विराटनगर महानगरभित्रका ४०२ कुकुरको बन्ध्याकरण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि सुरु गरेको अभियान अन्तर्गत पहिलो चरणका लागि आज सम्पन्न भएको छ ।

४ सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा २४० वटा ‘मेल’ र १६२ ‘फिमेल’को बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा गत मंसिर १९ गते विशेष समारोहकाबिच बन्ध्याकरण अभियान शुभारम्भ गरिएको थियो । वडा नम्बर १८ बाहेकका सबै वडाबाट कुकुरको नियन्त्रण गरेर बन्ध्याकरण गरिएको यादवले बताउनुभयो ।

विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको हो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो ।

दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिने छ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइनेछ ।

Back to top button