
जनकपुर । धनुषामा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको वीभत्स हत्या गरेको खुलेको छ। जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् वीरेन्द्रले जनकपुर उपमहानगरपालिका–९ मा रहेको काव्या अस्पताल पुर्याएका थिए। रिताको उपचारको क्रममा मृत्यु भएको हो।
घटनापश्चात् प्रहरीले थालेको अनुसन्धानमा श्रीमान् वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो।
त्यसपछि वीरेन्द्रले आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए। श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो।
हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी वीरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । हिजो राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो।
यस्तै, रिताका ४ र ६ वर्षका दुई छोरा छन्। स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए।