प्रदेश १ बाट एमाले संसदीय दलको नेतामा २ जनाको दाबी

विराटनगर । प्रदेश १ को ठूलो दल नेकपा एमालेमा २ जना नेता संसदीय दलको नेताको आकाक्षी देखिएका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५ सहित ४० सिट जितेको छ । बहुमतका लागि आवश्यक संख्या भन्दा ७ सिटले पछाडि रहेको एमालेमा हिक्मतकुमार कार्की र तिलकुमार मेन्याङ्बोले संसदीय दलको नेताको आकाक्षी देखिउनुभएको हो । कार्की झापा क्षेत्र नम्बर–५ (२)बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो भने मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट निर्वाचित हुनुभएको हो । पार्टीको जिम्मेवारीमा मेन्याङ्बो भन्दा कार्की माथि हुनुहुन्छ । संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दौडमा रहनुभएका कार्की एमाले स्थायी कमिटी सदस्य समेत हो । मेन्याङ्बो पोलिट व्यूरो सदस्य हुनुहुन्छ ।

मेन्याङ्बो २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ यस पटक पनि प्रतिनिधिसभा सदस्यको आकाक्षी हुनुहुन्थ्यो । योगेश भट्टराईले संघको टिकट पाएपछि उहाँ प्रदेशमा उठ्नुभएको थियो। कार्की भने २०७४ सालमा पहिलो पटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

यस्तै, एमाले भित्र कार्कीलाई मन नपराउने नेताहरुले मेन्याङ्बोलाई अघि सारेका हुन् । मेन्याङ्बो भने सशक्त रुपमा उभिनुभएको छैन् । कार्की सिनियर नेता भएका कारण आफ्नो सम्भावना कम भएको उहाँको बुझाई छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक पनि हुनुहुन्छ ।

२०७४ सालको जस्तो पार्टीमा २ धार नभएका कारण ससदीय दलको नेता छनोटका लागि यो पटक चुनाव हुने अवस्था कम छ ।

प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । ५६ मध्ये एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९ एकिकृत समाजवादी पार्टीले ३ र राप्रपाले दुई सिट जितेको छ । समानुपातिक तर्फ एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, जसपा र नेकपा एकिकृत समाजवादी पार्टीले १–१ सिट जितेका छन् ।

Back to top button