विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन नेविसंघको माग

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औं दीक्षान्त समारोहमा वितरण गरेको सेमेष्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघले सच्याउन माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेष्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको छ ।

डेभियसन सिस्टमलाई पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको स्पेसलाईजेसन विषयको उल्लेख नगरी सबै भनी उल्लेख गरिएको विद्यार्थीले गुनासो गरेको नेविसंघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तै, सेमेष्टर प्रणाली अन्र्तगत परीक्षा उत्तीर्ण भएका विद्यार्थीले थप अध्ययन गर्नको लागि आवेदन दिँदा समस्या झेलिरहनु परेकोले त्रिवि परीक्षा नियन्त्रण कार्यलयले यथाशिघ्र, सहज र निःशुल्क रुपमा त्रुटि सच्याउन नेविसंघले अनुरोध गरेको छ ।

नेविसंघले विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तिहरु नगर्न÷नदोहोर्‍याउन समेत सचेत गराएको छ ।

Back to top button