भन्सार कर्मचारीमाथि आक्रमण गर्ने एक पक्राउ

चाँदनी खातुनको समूहद्धारा आक्रमण

विराटनगर ।भारतबाट तस्करी भएर आएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि हातपात गर्ने तस्कर समूहका एक जना सदस्य सोमबार विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटबाट पक्राउ परेका छन् ।
प्रहरीले तस्करी भएर आएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गरेका तस्कर समूह मध्येका विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मियालाई सोमबार बिहान पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

गत शुक्रवार राती साढे १० बजे विराटनगर महानगरपालिका वडा नंः १५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा भारतबाट अवैध भन्सार छलिका सामान नेपालतर्फ पैठारी गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट ७ जनाको कर्मचारीहरू खटिएका थिए । अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिने क्रममा हुल हुज्जत गरी सामान र सवारी साधन भगाएका थिए । अवैध समान भगाउने मध्येका तस्कर समूहका सदस्य मियालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको हो । मियाले तस्करीको सामान राखेको लत्ता कपडा भगाउन सफल भएको १ च २२३५ नम्बरको सवारी साधन र अन्दाजी ४ लाख बराबरको कपडा पनि बरामद गरेको छ । उक्त अवैध सामान भारत दशगजा क्षेत्र भित्र लुकाई छिपाई राखेको अन्दाजी १ लाख ५० हजार बराबरको सामान प्रहरीको समन्वयमा सशस्त्र सीमा सुरक्षा बल (भारत) बाट बरामद गरी नियन्त्रणमा लिएको छ ।

भन्सारका कर्मचारीले नियन्त्रण लिन खोज्दा तस्कर समूहले आक्रमण गरी अवैध सामान लिएर जाने नेपाल भारत सीमा क्षेत्रमा बसोबासो गर्ने चाँदनी खातुनको समूह रहेको भन्सारको सिसी टिभी फुटेजबाट खुलेको छ । खातुनसहित समिम, सदरे आलम, मजिनाको समूहले आक्रमण गरी तस्करीको लत्ता कपडा भगाएको आरोप लागेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरी कार्यालय अगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी अगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै अवैध सामान नेपालतिर आइरहँदा सुरक्षा निकायबाट सहयोग नहुँदा तस्कर समूहको आक्रमणमा परेको उनले बताए । यो घटनाले तस्करी नियन्त्रणमा प्रहरी प्रशासनबाट असहयोग भएको उनको आरोप छ ।

आइतबार भन्सार कार्यालयले राजस्व चुहावट समितिको विराटनगर भन्सार कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकले चोरी तस्करी नियन्त्रण गर्ने र भन्सार कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्ने निर्णय भएको सूचना अधिकारी ढुङ्गानाले बताए ।

Back to top button