
भरतपुर । चितवन मेडिकल कलेज भरतपुरमा पछिल्लो १० महिनाको अवधिमा ३०५ जना नवजात शिशु तथा बालबालिकाहरुको शल्यक्रियामार्फत उपचार गरिएको छ ।
नवजात शिशु १५ जना, एक वर्ष मुनिका ३५ जना र १ देखि १४ वर्षसम्मका २५५ गरी ३०५ जना बालबालिकाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो ।
राजधानी बाहिर चितवनमा बाल शल्य चिकित्सकसहितको पेडियाट्रिक एनएसथेसियोलोजिष्ट, पेडियाट्रिक इनभेसिष्टको व्यवस्थापन अस्पतालमा गरिएको प्रमुख देवकोटाले बताउनुभयो ।
बाल शल्य चिकित्सक डा. प्रकृति गिरीले हर्निया भएका, दिसा गर्ने ठाउँ नभएका, नाइटो राम्रोसँग नबनेका, आन्द्रा नाइटोबाट निस्किएका, विभिन्न कारणबाट पेट फुलेका, आन्द्रा बनेको तर नशाको विकास नभएका, सानो आन्द्राको केही भाग नबनेका, आन्द्रा बटारिएका, खानेनली र स्वासनली जोडिएका, जन्मिदै ट्युमर देखिएका, अण्डकोष आफ्नो ठाउँमा नबसेका, जन्मदै रगतका सानो डल्ला घाँटी लगायतका भागमा भएका बालबालिकाहरुको शल्यक्रियामार्फत उपचार गरेर निको बनाइएको बताउनुभयो ।
‘नवजात शिशु तथा बालबालिकाहरुको शल्यक्रिया गर्ने कुरा अति नै जटिल र संवेदनशील कुरा हो’ डा. गिरीले भन्नुभयो, ‘बालबालिकाहरु आफैंले आफ्नो अवस्था बताउन नसक्ने हुँदा उनीहरु आमासँग बसेको, रोएको, सुतेको विभिन्न अवस्थाको विचार शल्य चिकित्सकले मात्रै गर्न सक्छ ।’ समयमै समस्याको पहिचान गर्न परिवार, स्वास्थ्य केन्द्र तथा विभिन्न अस्पतालमा ढिला हुँदा कतिपय बालबालिकाहरुले अकालमा मृत्युवरण गर्नुपरेको बताउँदै डा. गिरीले बाल शल्य चिकित्सा विधाका बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा बालबालिकाका लागि बच्चाका चिकित्सकसहितको टिम परिचालन गरिएको छ । कतिपय बालबालिकाहरुको आन्द्रा बटारिएर, हर्निया भएर पर्याप्त अक्सिजन नपाउँदा मर्ने र कालो हुने हुँदा पछि अप्रेशन गर्दा काटेर फाल्नुपर्ने अवस्था आउने डा. गिरीले बताउनुभयो ।
उहाँका अनुसार नाइटो नै राम्रोसँग नबनेको र आन्द्रा नाइटोबाट निस्किएको दुई दिनको शिशुलाई ४० दिनसम्म अस्पतालमा राखेर उपचार गरी निको पारिएको छ । कतिपय आन्द्रामा समस्या भएका बालबालिकाहरु समयमा नै अस्पताल आउँदा विना अप्रेसन पानीको माध्यमबाट आन्द्रा खुलाई उपचार गराउन पनि सकिने डा. गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यस्तो सेवा ३१ जना बालबालिकाहरुले लिइसकेका छन् ।
यस्तै कतिपय बालबालिकाहरुलाई निमोनिया भएको भनेर मेडिकल उपचार मात्रै गर्ने तर अवस्था भने सर्जिकल हुने देखिने गरेको डा. गिरीको भनाइ छ । त्यसका लागि चिकित्सक, पारामेडिक्स तथा स्वास्थ्यकर्मी र अभिभावकहरुले क्रिटिकल भएर सोच्नुपर्ने उहाँको धारणा छ ।
बालबालिकाहरुको शल्यक्रिया बाल शल्य चिकित्सकबाट नै गराउनुपर्छ भन्ने अवधारणाको विकास नेपालमा क्रमशः हुँदै गएको डा. गिरीले बताउनुभयो । उहाँ नेपालमा बाल शल्य चिकित्सामा एमसीएच गर्ने दोस्रो चिकित्सक हो।
कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले काठमाडौंका केही सीमित अस्पतालमा मात्रै बाल शल्य चिकित्सकबाट उपचार हुँदै आएकोमा मोफसलमा चितवनमा मात्रै बाल शल्य चिकित्ससहितको टिमको व्यवस्थापन गरिएको बताउनुभयो ।
‘नेपालमा दक्ष बाल शल्य चिकित्सकको संख्या निकै नै कम छ । यो विज्ञ सेवा काठमाडौंका केही अस्पतालमा मात्र उपलब्ध छ । उपत्यका बाहिर नियमित रुपमा चितवन मेडिकल कलेजमा यो सेवा उपलब्ध छ,’ देवकोटाले भन्नुभयो, ‘समयमा नै बालबालिकाहरुलाई उपचारका लागि ल्याउँदा रोग बिग्रिन र ज्यान गुमाउन पर्दैन ।’
यस्तै, अस्पतालले अन्तर्राष्ट्रिय स्तरको पेड्रियाटिक सर्जरी सेवा दिनका लागि भारतका विभिन्न संस्थाहरूसँग सहकार्य गर्ने र विज्ञहरुलाई बोलाई सेवाको समयअनुकूल थप विकास गर्दै लैजाने सोच बनाएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताउनुभयो ।