
कास्की । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट जितेको छ। समानुपातिकतर्फ निर्वाचन आयोगले आधिकारिक सिट संख्या सार्वजनिक नगरे पनि समानुपातिकतर्फको मत परिणामअनुसार ९ सिट प्राप्त गरेको छ।
समानुपातिक सांसद्सहित गण्डकी प्रदेशसभामा कांग्रेस २७ सांसदसहित सबैभन्दा ठूलो दल बनेको हो। यसअघिको प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो।
यसपटक भने एमालेको प्रत्यक्षमा १२ र समानुपातिकमा १० सहित २२ सांसदसहित दोस्रो ठूलो दल हो। ६० सदस्य गण्डकी प्रदेशसभामा ३६ सांसद प्रत्यक्ष र २४ सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन्।
प्रत्यक्षतर्फ कांग्रेसले १८, एमालले १२, माओवादी केन्द्रले ४, नेपाल समाजवादीले एक ठाउँमा जितेको छ। राजीव गुरुङ (दीपक मनाङे) स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित हुनुभएको छ । उहाँ हालै एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
समानुपातिक तर्फबाट एमालेले सबैभन्दा धेरै १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ जना सांसद पाएका छन्। प्रत्यक्ष र समानुपातिक मत परिणामअनुसार गठबन्धनलाई आरामदायी बहुमत छ। ६० सदस्यीय प्रदेसभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ। कांग्रेसका २७ र माओवादीका ७ सांसदसहित प्रदेशसभामा गठबन्धनको ३४ सांसद छन्। गोरखा २ क बाट माओवादीको चुनाव चिह्न लिएर जितेको नेपाल समाजवादीका फणीन्द्र देवकोटा गठबन्धनभित्रकै हो। उहाँसहित गठबन्धनका ३६ सांसद हुने देखिन्छ।
यस्तै, गठबन्धन नभत्कदासम्म एमाले र राप्रपा प्रतिपक्षी हुने देखिन्छ। २०७४ को आमनिर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्ष २ र एक समानुपातिकसहित ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाका तर्फबाट २०७९ को निर्वाचनमा भने कोही पनि सांसद चुनिएका छैनन्।