हिमालय रोडको सबै काम एक महिनाभित्र सक्ने तयारी

विराटनगर । विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना निर्माण एक महिना भित्र सम्पन्न हुने भएको छ ।

सिक्किमको एमजी रोड जस्तै बनाउने तयारी थालिएको विराटनगरको हिमालय रोडको अलपत्र कामलाई तिब्रता दिँदै एकमहिना भित्र सम्पन्न गर्ने गरि काम अघि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण लामो समयदेखि निर्माणको काम रोकिएको थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएपछि काम अघि बढेको छ । हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतका सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको छ । सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् ।

यो सडकलाई एमजी रोडकै नमुनामा बनाउनु हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन् । तर, महानगरको ठूलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताउनुभयो ।

‘अब हामी यो रोडको डिजाइन अनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं’, मेयर कोइरालाले भन्नुभयो, ‘त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेको छु ।”

मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमन समेत गरिसकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभएको छ । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।

Back to top button