हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताउनुभएको छ । आज काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताउनुभयो ।

‘देशको राजनीतिमा आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राख्नुभयो । ‘यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामु लत्रिनु परेको पनि छैन । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं’ उहाँले भन्नुभयो ।

एकीकृत समाजवादीको आज सुरु भएको पोलिट्व्यूरो बैठकमा नेताहरुले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

Back to top button