माघ १२ गतेदेखि विराटनगरमा ३ दिने सडक महोत्सव हुने

विराटनगर । विभिन्न जातजातिको सांस्कृतिक सभ्यतालाई जीवन्त राख्ने उद्देश्यका साथ विराटनगरमा पुनः ‘विराट सडक महोत्सव’ हुने भएको छ।

मन्जिना मुभिज क्रिएशनको आयोजनामा आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको ३ दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। आयोजकले आज पत्रकार सम्मलेन गर्दै महोत्सवका बिषयमा जानकारी दिएको हो ।

यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारीलगायतका कारणले विगतका २ वर्ष कार्यक्रम आयोजना गर्न नसकिएको संस्थाका निर्देशक ताम्राकारले बताउनुभयो ।

यसपटक भने भव्य तयारीका साथ सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका निर्देशक ताम्राकारले बताउनुभयो ।

महोत्सवमा राजवंशी, मैथिल, लिम्बु र नेवारलगायतका विभिन्न जातजातिको सांस्कृतिक सभ्यता झल्किने प्रकृतिका कार्यक्रमहरू समेत रहने उहाँले बताउनुभएको छ । आयोजकका अनुसार महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने छ।

महोत्सवमा विभिन्न जातजातिको स्वादिष्ट परिकारका का लागि ४० वटा स्टलको बुकिङ खुल्ला गरेको जानकारी दिँदै ताम्राकारले सडक महोत्सव पहिले जस्तै विराटनगरको ट्राफिक चौकदेखि महेन्द्र चौक जोड्ने हिमालय रोडमा आयोजना हुने छ।

मोरङ, सुनसरी र झापासहित छिमेकी मुलुक भारतको अररिया जिल्लाका गरी करिब एक लाख सर्वसाधारणले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । सडक महोत्सवको मुख्य प्रर्वद्धक विराटनगर महानगरपालिका रहने छ भने महोत्सवका लागि ३१ लाख खर्च हुने अनुमान आयोजकको छ ।

Back to top button