नेपाल टी–२० लिग: लुम्बिनी फाइनलमा

काठमाडौं । जनकपुर रोयल्सलाई पहिलो क्वालिफायरमा ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले ८ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको जनकपरले ७ विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रनको योगदान गर्नुभयो। यस्तै, पवन सर्राफ ३० रनमा अविजित रहँदा ओपनर शारफुद्दिन असरफ २४ रन जोडेर आउट हुुनुभएको थियो।

लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरी, विपलु शर्मा र सागर ढकालले जनही २ विकेट लिनुभयो। शाड्ली भान स्कलक्यकले पनि एक विकेट लिनुभएको थियो।

पहिलो इनिङमा इशान पाण्डेले लुम्बिनीका लागि सर्वाधिक ३८ रन जोड्नुभएको थियो। अनिल साहले २४ तथा विपुल शर्माले २० रनको योगदान गर्नुभएको थियो।

जकपुरका लागि अशान प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले जनही २ विकेट लिनुभएको थियो। त्यसबाहेक ट्रेभोन ग्रिफिथ र पवन सर्राफले १–१ ब्याटरलाई पेभेलियन फर्काउनुभएको थियो।

समूह चरणबाट शीर्ष स्थानमा रहँदै लुम्बिनी प्ले अफमा आइपुगेको हो। जनकपुरले पनि दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। जनकपुरले भोलि हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

Back to top button