‘सोल्टिनी’ निर्देशक अरुण झाको निधन

काठमाडौं । बक्स अफिसमा हिट फिल्महरु ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएँ नि’ जस्ता फिल्मका निर्देशक अरुणकुमार झाको निधन भएको छ । ७२ वर्षीय झाको हृदयघातका कारण आज बिहान शिक्षण अस्पतालमा निधन भएको झाका समकालीन अभिनेता मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।

सन् २००० मा फिल्म ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेपछि उहाँ स्वास्थ्यको कारण फिल्ममा सक्रिय हुन सक्नुभएन् । उहाँ विभिन्न रोगबाट ग्रसित हुनुहुन्थ्यो। दोस्रोपटक हृदयघात भएपछि उहाँलाई आज बिहानै अस्पताल लगिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

झाले ‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोस्रो विवाह गर्नुभएको थियो। जेठी श्रीमतीको तर्फबाट झाका २ छोरा अमेरिकामा बस्दै आएका छन् ।

सप्तरीको राजविराज स्थायी घर हुने झा श्रीमती मेघाका साथमा काठमाडौंको डिल्लीबजारमा बस्दै आउनुभएको थियो। फिल्मबाहेक उहाँले केही टीभी सिरियल र वृत्तचित्र पनि निर्देशन गर्नुभएको छ ।

Back to top button