प्रदेश १ : सभामुख बन्दै माओवादी नेता गौतम, आजै मनोनयन दर्ता

विराटनगर । प्रदेश नम्बर १ मा केन्द्रीय भागबन्डा अनुसार सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

केन्द्रको निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसक्नुभएको छ । सोही सहमति अनुसार सभामुखमा एमालेले माओवादीलाई समर्थन गर्नेछ ।

प्रदेशमा सभामुख चयनका लागि आज कार्यतालिका सार्वजनिक हुँदैछ । प्रदेशसभामा सभामुख चयनका लागि आजै उम्मेदवारको मनोनयन हुने एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

पुष २४ गते बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन पुष २८ गते तोकेको छ । प्रदेश १ को सभामुख माओवादीले पाएसँगै कसलाई उम्मेदवार बनाउला भन्ने चासो सुरु भएको छ । माओवादी स्रोतका अनुासर ओखलढुंगाको प्रदेश (२) बाट निर्वाचित हुनुभएका बाबुराम गौतमलाई सभामुख बनाउने तयारी छ ।

सभामुखका लागि पार्टी र संसदीय दलमा बाबुराम गौतमको नाममा सहमति भइसकेको माओवादीका एक सांसदले बताए । उनले भने,‘परिस्थिति परिवर्तन नभए उहाँ नै हाम्रो उम्मेद्वार हो ।’

यस्तै, ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ संसद आवश्यक पर्छ । हाल कायम रहेको गठबन्धनमा ६० संसद छन् । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सदस्यको समर्थन पाए गौतम नै प्रदेश १ को दोस्रो सभामुख बन्नुहुने छ । यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख हुनुहुन्थ्यो ।

Back to top button