नेपाल टी–२० लिगको पहिलो च्याम्पियन लुम्बिनी अल स्टार्स

काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको लो स्कोरिङ खेलमा १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सक्यो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाउनुभयो । अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट हुनुभयो। कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट हुनुभयो । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट हुनुभयो । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाउनुभयो ।

बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिनुभयो । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षा अनुसारको नहुँदा लुम्बिनी १ सय ३३ रनको कमजोर योगफलमा सिमित भयो ।

ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गर्नुभएको थियो । हरमित ३० र लाहिरु ४१ रनमा आउट हुनुभयो । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिनुभयो । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिनुभयो । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिनुभयो ।

प्रतियोगिताका १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन बन्यो । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो ।

उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

Back to top button