तत्काल सरकारमा जाँदैनौं : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गदै उहाँले अहिले सरकारमा जाने कुरा सम्भव नभएको बताउनुभएको हो ।

सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जानकारी गराउँदै अध्यक्ष नेपालले परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भएको अवस्थामा भने सरकारमा जान सकिने बताउनुभयो ।

उहाँले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताउनुभयो ।

उहाँले समानुपातिकमा सन्तोषजनक मत नआएपनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष नेपालले पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Back to top button