खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की (भिडियोमा विद्यार्थीका कृयाकलापसहित)

विराटनगर । प्रदेश- १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङको आयोजनामा आजदेखि सुरु भएको प्याब्सन स्पोर्ट्स मिट २०७९ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले खेलकुद जीवनको महत्वपूर्ण विषय रहेको चर्चा गर्दै उहाँले खेलकुदले शारीरिक मात्र नभई मानसिक र समाजिक क्षेत्रका लागि पनि आवश्यक रहेको बताउनुभयो ।

उहाँले खेलकुदले आपसमा सद्भाव बढाउने मात्रै नभई अनुशासित बन्न समेत सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले खेलकुदमा अब्बल हुँदा देशको नाम विश्वमा चिनाउने मात्र नभई खेलमा अगाडि रहेको देशको मुहार समेत फेर्न सक्ने तागत रहेको चर्चा गर्नुभयो ।

उहाँले नेपालमा खेलकुदको क्षेत्रमा उल्लेख्य बजेट छुट्याउन नसकिरहेको भन्दै प्रदेश १ सरकारले यसलाई महत्वका साथ लिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । यस्तै निजी विद्यालयहरुले राष्ट्रका लागि ठूलो योगदान गरेको बताउनुभयो ।

उहाँले राज्यले बनाएको कानुनको अधिनमा रहि सञ्चालनमा रहेका निजी विद्यालयले शैक्षिक ज्ञानसँगै ठूलो संख्यालाई रोजगारी समेत प्रदान गरेको बताउनुभयो । उहाँले प्रदेश सरकार निजी विद्यालयको सवालमा प्याब्सनसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार टिकाराम पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति खेलकुद अपरिहार्य रहेको महशुष गर्दै आफू प्याब्सन जिल्ला अध्यक्ष हुँदा आरम्भ गरेको यो प्रतियोगितालाई निरन्तरता दिँदै १२ औं संस्करणसम्म ल्याएकोमा धन्यवाद दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शैक्षिक शैक्षिक गुणस्तर र खेलकुदका लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजी विद्यालय र सामुदायीक बिद्यालयबिच साझेदारी र सहकार्य आवश्यक रहेको बताउनुभयो ।दुवै किसिमका विद्यालयमा भएका राम्रा पक्षलाई एक अर्काले अनुशरण गर्दै अघि बढ्न सक्दा शैक्षिक गुणस्तरमा बृद्धि हुने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले अबको शिक्षा जिवनोपयोगी हुनपर्ने भन्दै प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको चर्चा गर्नुभयो । यस्तै उहाँले पछिल्लो समय लागुऔषधको दलदलमा युवापुस्ता फस्दै गएको भन्दै त्यसलाई रोक्न विद्यालयस्तर देखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख टंक गौतमले खेलकुद सर्वाङिण विकासको आधाररहेको भन्दै यस्ता गतिविधिहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अहिलेको पुस्ता कोठाभित्र मात्रै बस्ने क्रम बढ्दै गएको भन्दै त्यसलाई रोक्न खेलकुदमा सम्लग्न गराउन अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेल मैदान नहुने शिक्षण संस्थाले पनि ‘इनडोर’ खेलहरु भएपनि खेलाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले खेलकुदका लागि प्रशिक्षकको समेत अभाव हुँदै गएको भन्दै विषयगत खेलका प्रशिक्षक उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो ।

८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दर्जनौं विद्यालयका सयौं विद्यार्थीले सहभागिता जनाउने प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बाले जानकारी दिनुभयो ।

हेरौं प्याब्सन स्पोर्ट्स मिट २०७९ को उद्घाटन समारोहमा विद्यार्थीले गरेका केहि कृयाकलाप भिडियोमा

Back to top button