प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत : डा. कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताउनुभएको छ ।

संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताउनुभएको हो ।

आफूले कार्य सम्पादन समितिमा तटस्थ बसौं भनेर प्रस्ताव राखेपनि सुनुवाइ नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उहाँले बताउनुभयो ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाउनुभएको थियो ।पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइराला पक्षको बैठक बसेको हो ।

यस्तै जारी बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण पनि खोजेका छन् । संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको भन्दै प्रश्न उठाएका छन् ।

६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाउनुभएको थियो । तर कोइराला समूहको मत ३१ थियो ।

Back to top button