यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सफल सुष्मा

काठमाडौं । नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गर्नुभएको छ ।

थाइल्याण्डमा भइरहेको प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुली आरएससीका आधारमा पराजित गरी कम्तिमा रजत पक्का गर्नुभएको हो ।

एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडी फाइनलमा पुगेको यो पहिलो अवसर हो । उहाँले आउदो बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नुहुने छ । यसअघि सुष्माले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहानलाई पराजित गर्नुभएको थियो।

प्रतियोगितामा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीको सहभागिता छ । महिलातर्फ आज नै हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नुहुने छ । उहाँले यसअघि क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गर्नुभएको थियो।

बाइ पाएर कम्तिमा कांस्य पदक पक्का गर्नुभएकी त्रिशा जगेवुले ७५ केजी तौलसमूहको फाइनल प्रवेशका लागि बुधबारै काजाकस्तानकी यार्झान गुल्सायासँग खेल्नुहुने छ ।

पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार भने क्वाटरफाइनलमा पराजित भइसक्नुभएको छ । ८६ केजी तौलसमूहका विजय बाटा बाइ पाएर कम्तिमा कांस्यको हकदार बनिसक्नुभएको छ । सेमिफाइनलमा उहाँले भारतका मुस्किता माइखेलसँग खेल्नुहुने छ ।

Back to top button