विराटनगर महानगरको अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न समिति गठन

विराटनगर । विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङहोम, ल्याब, पोलिक्लिनिक, मेडिकललगायतका प्रतिनिधिहरूको भेलाले समिति गठन गरेको हो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको छ ।

सो समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन कार्यान्वयनका लागि महानगरले सबै किसिमको सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर रहेको भन्दै उहाँले यो अभियानमा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

निजी अस्पतालहरूले बुझाउने कर आउने क्रममा रहेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो । उहाँले अनुगमनमा जाँदासमेत अस्पतालहरूले सहजीकरण गरेर सहयोग गरेको बताउनुभयो ।

छलफलमा महानगरभित्र सञ्चालित सबै अस्पताल परिसरभन्दा बाहिर पनि सफा राख्न र पर्खालहरूमा रंगरोगन गर्न अस्पताल सञ्चालक सहमत भएका छन् ।

यसैगरी अस्पतालहरूले महानगरलाई बुझाउनुपर्ने सबै प्रकारका स्थानीय कर नियमित बुझाउन तयार रहेको अफिनका अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले बताउनुभयो । डा. अधिकारीले महानगरको समग्र विकासमा निजी अस्पतालहरूको सधैं साथ र सहयोग रहने बताउनुभयो ।

Back to top button