सीएनआई कोसी एक्स्पोको उत्साहजनक प्रवर्धन गर्दै ५ वटा पालिका

विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवर्धन गरेका छन् ।

विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवर्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवर्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो ।

स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि प्रवर्धन गरेपछि उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् ।

पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा प्राप्त गर्ने जनाइएको छ ।

जसका कारण उनीहरुले आफ्नो उद्यमलाई बजारको पहुँचसम्म पु¥याउन सहज हुने भएको हो । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारीलाई तिब्रता दिइएको छ । परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्स्पोको प्रवर्धनका लागि सहभागीता जनाएको बताउनुभयो ।

अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले संचालन गरेका उद्यमलाई उपभोक्ताहरु माझ चिनाउनका लागि अवसर प्राप्त भएको उहाँको भनाई छ । अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुको समेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँचवटा स्थानीय तहमार्फत उनीहरुको सहभागीता सुनिश्चित भएको जानकारी दिनुभयो ।

उहाँले एक्स्पोलाई भव्यता प्रदान गर्न हरेक क्षेत्रबाट तयारी अघि बढिरहेको जानकारी दिनुभयो । यसअघि ३ सय ५० वटा स्टल रहने गरी तयारी अघि बढाइएपनि स्टलहरुको माग अत्याधिक भएका कारण एक्स्पोमा कुल स्टलको संख्या ४ सय नाघिसकेको अध्यक्ष घिमिरेले दाबी गर्नुभयो ।  एक्स्पोलाई ऐतिहासिक बनाउनका लागि सवै क्षेत्रसँग समन्वय भइरहेको समेत उहाँले बताउनुभयो ।

एक्स्पो अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी तयारी गरिएको एक्स्पोका सहसंयोजक गिरीजा सारडाले बताउनुभयो । उहाँले अधिकांश स्टलहरु बुकिङ भइसकेको जानकारी दिनुभयो । एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद गर्न सकिने छ । एक्स्पो माघ २८ गतेसम्म १० दिन सञ्चालन हुनेछ ।

मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि एक्स्पो महत्वपूर्ण हुने विश्वास लिइएको छ । सीएनआई प्रदेश १ ले स्थापनाकै पहिलो बर्षमा उत्साहजनक रुपमा एक्स्पो आयोजना गर्ने गरी तयारी गरेको उहाँलेले बताउनुभयो ।

एक्स्पोमा प्रदर्शनी तथा विक्रीका लागि राखिने वस्तु तथा सेवाहरुको प्रकृति अनुसार अलग–अलग पेभिलियन रहने जनाइएको छ । औधोगिक उत्पादन, अटोमोबाइल, कृषि उत्पादन लगायतका हरेक वस्तुका लागि अलग पेभिलियन हुने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताउनुभयो । उहाँले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बनाइराख्नका लागि एक्स्पो उपयुक्त थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

एक्स्पोका माध्यमबाट प्रदेश १ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नयाँ लगानीकर्ताहरु समेत आकर्षित हुने बताउनुभयो । एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ ।

‘सौर्यमण्डल’ देखाइने’ 

सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ ।

विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिनुभयो ।

सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण गरिने उहाँले बताउनुभयो । विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ ।

उहाँले अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे सवैले जानकारी पाउनसक्ने बताउनुभयो । सानो उमेर समुहलाई १५ मिनेट र ठुलोलाई २५ मिनेटसम्मको समयमा सौर्यमण्डल अवलोकन गराइने छ ।

सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्स्पोमा समेटिएको जनाएको छ ।

फारोह र मंगोलियन हर्ट लगायतका ब्याण्डको प्रस्तुती रहने

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् । गायक सविन राई तथा उहाँको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् ।

सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित भइसकेका छन् । एक्स्पो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कुँवर र उहाँको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको छ ।

एक्स्पोलाई भव्य बनाउने उदेश्यका साथ हरेक दिन चर्चित कलाकारहरुले स्टेजमा गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोञ्जन प्रदान गर्ने सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताउनुभयो ।

मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट नर्सिङ कलेज, चिकित्सक संघ, हिसान, प्याब्सन, नेपाल नर्सिङ एशोसिएशन, अटोमोबाइल्स एसोसिएशन, इन्स्योर परियोजना, स्वीस कन्ट्याक्ट, एनवीक्यूएस लगायतका संघसंस्था तथा निकायहरुले एक्स्पो सफल बनाउनका लागि सहकार्य गरेका छन् ।

Back to top button