
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगरभित्रका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वर्धनमा लागिपर्ने बताउनुभएको हो ।
उहाँले मिश्रित जाति, धर्म र समुदायको बसोबास रहेको विराटनगर संस्कृतिमा धनी रहेको चर्चा गर्नुभयो । सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उहाँले बताउनुभयो ।
मेयर कोइरालाले यस्ता पर्वले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । कोइरालाले भाषा र संस्कृतिको पुस्तान्तरण जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तामाङ समुदायबाट खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने युकेश योञ्जन, लाक्पा मुक्तान तामाङ, कुमारी तामाङ र श्रेया योञ्जनलाई सम्मान गरिएको छ ।
नगर समिति अध्यक्ष विष्णुकुमारी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ समिति प्रदेश–१ का अध्यक्ष रेखबहादुर घिसिङ, विराटनगर समितिका पूर्वअध्यक्ष ध्रुव तामाङ, कृष्ण तामाङ, किरात राई याख्या चुम्वा नगर समिति अध्यक्ष नारायण याक्सो, साहित्यकार शोभा लामा बललगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।