स्पट फिक्सिङको आरोपमा पूर्व क्रिकेट खेलाडि मेहबुब आलम पक्राउ

विराटनगर । ‘स्पट फिक्सिङ’ को आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी मेहबुब आलम विराटनगरबाट पक्राउ पर्नुभएको छ । आज दिउँसो उहाँलाई विराटनगर बसपार्कस्थित भिन्तुना होटलबाट मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को निर्देशनमा आलमलाई पक्राउ गरेर काठमाडौं पठाएको मोरङका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । नेपाल टी ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप उहाँमाथि छ ।

फिक्सिङमा अर्का राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारी पनि पक्राउ पर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार आलमले अन्सारीलाई स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

लिगमा खेलाडी नरहे पनि आलमले जतिन अहुवालियासँग खेलाडीहरुको सम्पर्क गराउनुभएको थियो । प्रहरीले अनुसन्धान थालेपछि अहलुवालिया फरार भइ प्रतियोगिता चलिरहेकै बेला भारत जानुभएको थियो ।

विराटनगरस्थित कान्तिपुर कलेजले मेहबुब आलमलाई माघ १० गतेबाट सुरु हुने हिसान स्पोर्टस मिटमा प्रशिक्षकका लागि बोलाएको थियो । सप्तरीको राजविराज घर भएका आलम हिसान स्पोर्टस मिटमा आएका बेला विराटनगरबाट पक्राउ पर्नुभएको हो ।

Back to top button