हिसान स्पोर्ट्स मीटको उद्घाटन भोली, फुटबलको खेल आजै सुरु

विराटनगर । ११ औं हिसान स्पोर्ट्स मीट अन्तर्गत आजदेखि फुटबलका खेल सुरु भएको छ । स्पोर्ट्स मीटको औपचारीक उद्घाटन भने भोली गर्ने तयारी हिसान मोरङको छ ।

आज सम्पन्न फुटबलका खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड कलेज विजयी भएका छन् । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन चौधरीले ह्याट्रिक गर्दा प्रशिल कार्कीले २ र निश्चल थारुले १ गोल गर्नुभयो ।

दोस्रो खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।  कोशीका म्यान अफ द म्याच विरबहादुर लिम्बु, प्रदिप तामाङ र गौरव धिमालले १–१ गोल गर्दा सगरमाथाका आयुस तामाङले एक गोल फर्काउनुभयो ।

तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । अर्किडका जुनियर साँवाले १ गोल गर्नुभयो भने मेरिल्याण्डका निशान्त रायले गरेको प्रहार आत्मघाती गोलमा परिणत भयो । खेलको म्यान अफ द म्याच अर्किडका जुनियर साँवा घोषित हुनुभयो ।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने उद्देश्यका साथ हिसान स्पोर्ट्स मिटको आयोजना गरिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताउनुभयो ।

०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको हिसान मोरङले कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गर्न बाध्य भएको जनाएको छ । यद्यपी त्यसलाई यस वर्षदेखि भव्यताका साथ निरन्तरता दिन थालिएको अध्यक्ष ढकालले बताउनुभयो ।

यस स्पोर्ट्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र/छात्रा), टेबलटेनिस सिंगल र डबल्स (छात्र/छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

Back to top button