एमालेका जनसंगठनको सम्मेलन मिति घोषणा

काठमाडौं । नेकपा एमालेको सबै जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलन मिति तय गरिएको छ।

एमालेका ९ वटा जनवर्गीय संगठनको महाविधेशन–सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन–सम्मेलनका लागि मिति घोषणा गरेका हुन्। गत पुष २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन–सम्मेलन गर्ने निर्णय गरेका थिए।

सदस्य खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन–सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो।

उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौंमा सम्मेलन हुने भएको छ।

यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौं, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौंमा, अखिल नेपाल महिला संघको चैत २५ देखि २६ गते काठमाडौंमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय संगठनका अधिवेशन नियमित हुन सकेका थिएनन्। एमालेका २३ जनवर्गीय संगठन छन्।

Back to top button